इटहरी । गत शनिबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा ६ युवा खेलाडीले ज्यान गुमाए । बसिरहेको ठाउँबाट सुरक्षित स्थानमा जाने क्रममा बाटैमा पहिरो खस्दा उनीहरुको ज्यान गएको थियो ।
खेलाडीहरुको ज्यान जानुमा स्थानीय एन्फा पदाधिकारीहरुको लापरवाही मुख्य कारक रहेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । यद्यपी पदाधिकारीहरुले भने ती खेलाडीहरु आफै अघि लाएर जाँदा बाटोमा पहिरोमा परेको भन्दै खेलाडीहरुमाथि नै दोषारोपण गरिरहेका छन् ।
यसैबिच नेपाल फुटबल प्रशिक्षक संघले इटहरीमा दीप प्रज्वलन गरेको छ । संगीत चोकमा इटहरी उपमहानगरपालिकासहित दुई दर्जन बढी संस्थाहरुको सहभागितामा दीप प्रज्वलन गरिएको कार्यक्रमका संयोजक आयोजक संस्थाका उपाध्यक्ष सुरेन्द्र तामाङले जानकारी दिए ।
पहिरोमा ज्यान गुमाउने खेलाडीहरुमा मकवानपुरको हेटौँडा– १२ का अनुपम घलान, मकवानपुर गढी गाउँपालिकाका साइमन योञ्जन, मकवानपुरकै सिस्नेरी टेकरका दिवस बानियाँ, बारा निजगढ– ८ का विकल रेग्मी, सर्लाहीका आदित्य बलम्पाखी र काठमाडौंका प्रियान्स आचार्य छन् ।
मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिकास्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रमा बसिरहेका बेलामा कुलेखानी ड्यामको पानी छोड्ने सूचना पुगेको थियो । बसिरहेको ठाउँमा असुरक्षित महसुस गर्दै उनीहरु त्यहाँबाट हिडेका उनीहरुलाई बाटैमा पहिरोले पुरेको थियो । सुचना पाएलगत्तै एन्फा र त्यहाँका जिम्मेवारी पदाधिकारीले बेलैमा सही निर्णय गर्न नसक्दा उनीहरुको ज्यान गएको आरोप परिवारहरुले लगाएको छ ।