४०० केभी क्षमताको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

न्युजलय ६ पुस २०८०, शुक्रबार ०९:०० मा प्रकाशित

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको आज उद्घाटन हुँदैछ।


विद्युत स्टेशन उदघाटनका लागि प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ इनरुवा पुगिसकेका छन्।


विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सबस्टेसन ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित सब स्टेसन हो । यो सबस्टेसन धनुषाको ढल्केबरपछिको देशकै दोस्रो ठूलो विद्युत् सबस्टेसन हो।


यो सबस्टेशनबाट मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सहयोग पुग्ने प्राधिकरणका अधिकारीहरुले जनाएका छन्। 


प्राधिकरणले इनरुवामा ४०० र २२० केभीका दुईवटा सबस्टेसन निर्माण गरेको छ। करिब तीन अर्ब ८३ करोड रुपैयाँको लागतमा यी दुई सबस्टेशन निर्माण भएका हुन्।