प्रतिक्षा अधिकारीको नेतृत्वमा महिला उद्यमी संघ सुनसरी गठन

न्युजलय १२ असोज २०८३, सोमबार ०८:४७ मा प्रकाशित

इटहरी । प्रतिक्षा अधिकारीको नेतृत्वमा महिला उद्यमी संघ सुनसरी गठन भएको छ । अधिकारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमितिको पदस्थापन तथा शपथ ग्रहण भएको हो ।


महिला उद्यमी संघ कोशी प्रदेशकी अध्यक्ष कृती उपाध्यायको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो।


नयाँ कार्यसमितिको उपाध्यक्षमा सुमित्रा भट्टराई, सचिवमा सृजना कट्टेल, सहसचिवमा अञ्जना थापा र कोषाध्यक्षमा आशा चौधरी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा दिपिका दाहाल, चम्पा श्रेष्ठ, आरती चौधरी, प्रमिशा न्यौपाने र ऐलीना उप्रेती रहेका छन्।


पदभार ग्रहण गर्दै अध्यक्ष अधिकारीले सुनसरीका विभिन्न क्षेत्रमा उद्यम तथा व्यवसाय गर्दै आएका महिलालाई संघमा आबद्ध गराउँदै महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण, उद्योग तथा व्यवसाय व्यवस्थापन र आवश्यक सीप विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइन् ।


प्रदेश अध्यक्ष उपाध्यायले करिब एक दशकदेखि निष्क्रिय अवस्थामा रहेको संघ नयाँ कार्यसमितिमार्फत पुनः क्रियाशील भएको बताइन् । महिला उद्यमीले भोग्दै आएका समस्या समाधान गर्न पहल गर्नुका साथै जिल्लामा उद्यमशीलताको विस्तार र महिला सहभागिता बढाउन संघले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।


कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख चौधरीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन उद्यमशीलताको विस्तार आवश्यक रहेको बताइन्। उनले महिला उद्यमीलाई प्रोत्साहन गर्न स्थानीय तहबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।


कार्यक्रममा दुहबी नगरपालिकाको उद्यम विकास शाखाका प्रमुख दिवेश चौधरी, पाथिभरा पोलिटेक्निकका प्रमुख कृष्ण साह, इटहरी लेडी जेसीजकी अध्यक्ष यमुना बुढाथोकी, व्यवसायिक सीप प्रशिक्षण केन्द्रका प्रमुख पुष्प कट्वाललगायतको उपस्थिति थियो।