मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु

न्युजलय ५ असार २०८२, बिहिबार ०६:०८ मा प्रकाशित

काठमाडौँ । मोबाइल चार्ज गर्ने क्रममा रौतहटमा एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर नगरपालिका–३ डमार पोखरी टोलकी ३० वर्षीया गुलनाज खातुन रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खातुनलाई बुधबार दिउँसो आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई परिवारले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगेको थियो ।

तर, अस्पताल पुर्‍याइएको केही समयमै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखेको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप विवरण खुल्ने बताइएको छ ।