‘ब्याकबेञ्चर’ सफल बन्दैनन्, नेता बन्न अध्ययन चाहिन्छ : मुख्यमन्त्री कार्की

न्युजलय २७ जेठ २०८१, आइतबार ०५:४० मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सफल राजनीतिज्ञ बन्न अध्ययन आवश्यक हुने बताएका छन् । उनले नेताहरु पढेका हुँदैनन्, भ्रष्ट हुन्छन्, व्यभिचारी हुन्छन् भन्ने भाष्य चिर्न नेताहरु अध्ययनशील हुनुपर्नेमा जोड दिए ।


सुनसरीको इटहरीमा आइतबार इटहरी जेसिजले आयोजना गरेको भोलिको नेतृत्व विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले निवर्तमान मुख्यमन्त्री केदार कार्कीप्रति पनि कटाक्ष प्रहार गरेका छन् । उनले ब्याक बेन्चरहरुले नेतृत्व गर्न नजान्ने बताउँदै सफल नेतृत्वकर्ता बन्न पढ्नैपर्ने बताए । 


‘कहिलेकाँहि व्याक बेञ्चरहरु झुक्किएर उछिट्टिएर नेतृत्वमा पुगेको भएपनि नेतृत्व गर्न नजान्ने भएकोले चलाउन सक्दैनन्,’ उनले भने,  ‘त्यही कारण मुलुकको नेतृत्व गर्छु भन्ने राजनीतिज्ञहरुका लागि अध्ययन अत्यावश्यक छ ।’


निवर्तमान मुख्यमन्त्री केदार कार्कीले पदमा रहँदा एक कार्यक्रममा आफू स्कूलमा ब्याकबेञ्चर भएपनि मुख्यमन्त्री भएको र फस्ट बेञ्चमा बस्नेहरु खरदार बनेर घुस खाइरहेको टिप्पणी गरेका थिए । त्यसबेला उनको भनाईप्रति कर्मचारी संगठनहरुले आपत्ती जनाएका थिए । केदारपछि मुख्यमन्त्री भएका हिक्मतले केदारको उक्त बनाइबारे आलोचनात्मक टिप्पणी गरेका हुन् ।


मुख्यमन्त्री कार्कीले आफूलाई बुझ्दै समाज र राष्ट्रप्रतिको दायित्व बुझ्न सक्ने व्यक्ति मात्र सफल हुने बताए । उनले नेताबारे आम जनतामा नकारात्मक भाष्य निर्माण भएको भन्दै उनले सबैलाई एउटै डालोमा हालेर सबै नेता खराब भन्न नमिल्ने धारणा व्यक्त गरे ।


नेतृत्वमा रहनेहरु आर्थिक लाभ र लोभबाट टाढा बस्नुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले त्यसबाट बच्न नसक्दा छवि बिग्रिँदै जाने र जनताबाट अविश्वास हुने बताए । नेपालको संघीय संरचनामा सबैभन्दा उत्कृष्ट नतिजा प्रदेश सरकारले दिइरहेको दाबी गर्दै उनले संघीयता अघि २० वर्षमा नभएको विकास बितेको ६ वर्षमा भएको दाबी गरे ।