अवैध सम्बन्धबाट गर्भवती भएकी महिलाले गरिन् शिशुको हत्या

न्युजलय १९ बैशाख २०८१, बुधबार ०१:१५ मा प्रकाशित

मोरङ । मोरङमा अवैध सम्बन्धबाट गर्भवती भएकी महिलाले शिशु जन्माएर हत्या गरेको घटना बाहिरिएको छ ।

 मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेसँगै उक्त घटना बाहिरिएको हो ।

हत्या आरोपमा शिशुकी आमा पक्राउ परेकी हुन् । शिशुका बाबु भने पत्ता नलागेकाले शिशुका बाबुको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राईलाई सोमबार साँझ पक्राउ गरिएको हो ।

घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको र त्यसपछि हत्या गरेर ढुंगाको चेपमा फ्यालेको अवस्थामा सोमबार साँझ शिशुको शव फेला परेको हो । कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ  । 

सुत्केरी अवस्थाकी अस्मितालाई नियन्त्रणमा लिएर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । अस्मिताको स्वास्थ्य अवस्था कमजोर रहेको प्रहरीले जनाएको छ ।

शिशुको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुने प्रहरीले जनाएको छ ।