काठमाडौं । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।
पिएसजीले घरेलु मैदानमा युभेन्ट्समाथि २–१ को महत्वपूर्ण जित निकालेको हो । पिएसजीको जितमा दुवै गोल एमबाप्पेले गर्दा युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए ।
पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलको पाँचौ मिनेटमो एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले नेयमारको पासमा गोल गर्न सफल भएका थिए ।
२२औं मिनेटमा एमबाप्पेले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर पारे । यसपटक एमबाप्पेले अचरफ हाकिमीको पासमा गोल गर्न सफल भएका थिए । ५३औं मिनेटमा वेस्टन म्याककेन्नीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो ।
यस जितसँगै पिएसजीले समूह ‘एच’ मा ३ अंक जोडेको छ । समान ३ अंक नै भएपनि बेन्फिका पिएसजीभन्दा अघि छ । यही समूहको अर्को खेलमा बेन्फिकाले माकावी हाइफालाई २–० ले पराजित गरेको छ ।