भारतका १३ राज्यमा चक्रवातको असर

न्युजलय १२ कार्तिक २०८३, बुधबार ११:४५ मा प्रकाशित

काठमाडौं । भारतको पूर्वी तटीय क्षेत्रमा चक्रवात अर्नबले जनजीवन प्रभावित बनाएको छ। 

आन्ध्र प्रदेश र ओडिशामा भारी वर्षा र तीव्र हावाका कारण तटीय क्षेत्रमा जोखिम बढेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

बुधबार बिहानदेखि आन्ध्र प्रदेश र ओडिशाका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ। बाढीको जोखिममा रहेका क्षेत्रबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने खराब मौसमका कारण रेल र हवाई सेवा प्रभावित भएका छन्।

ओडिशाका १६ जिल्लामा विद्यालय बन्द गरिएका छन् भने करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आन्ध्र प्रदेश र ओडिशामा चक्रवात प्रभावित मानिसलाई राख्न हजारौं आश्रय स्थलको व्यवस्था गरिएको छ। खराब मौसमका कारण ५० रेल र २१ उडान रद्द गरिएका छन्।

चक्रवातको प्रभाव तमिलनाडु, आन्ध्र प्रदेश, केरल, कर्नाटक, तेलंगाना, ओडिशा, पश्चिम बंगाल, बिहार, झारखण्ड, उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ र महाराष्ट्रसहित १३ राज्यमा पर्ने अनुमान छ। मौसम विभागले विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरेको छ।