इटहरी । द्वारिकलाल चौधरी इटहरीका मेयर हुँदा इटहरीका खोला पैनी मिचेका संरचना भत्काउन सुरु गरिएको थियो । तर समन्वय र प्रक्रियामा नगइ सुरु गरिएको काम अघि बढ्न सकेन । कार्यपालिका सदस्यहरुकै असहयोग भएपछि उनले एकाध संरचना मात्र भत्काउन सके ।
अहिले भने मेयर हेमकर्ण पौडेलले कार्यपालिका सदस्यहरुसमेतको सहयोग लिएर प्रक्रियागत रुपमा काम थालेका छन् । जसको परिणामस्वरुप मंगलबारदेखि तालतलैया बाट संरचना भत्काउन थालिएको छ । पटक पटक सुचना दिएर नाप जाँच समेत गरिसकेको आधारमा घरलगायतका संरचना भत्काउन सुरु गरिएको हो ।
वर्षेनी इटहरीमा बाढी तथा डुबानको कारकको रुपमा खोला पैनीमा गरिएको अतिक्रमण मानिएको छ । यस्तै अतिक्रमित क्षेत्रमा उपमहानगरले मंगलबारदेखि डोजर चलाएको हो ।
मेयर पौडेल मंगलबार बिहानै वडाध्यक्षलगायत जनप्रतिनिधिहरु, उपमहानगरपालिकाका कर्मचारी, नगरप्रहरी र डोजर लिएर वडा नं. ३ को टेंग्रा खोला शिरानमा पुगेका थिए । तालतलैयाबाट टेंग्रा खोलाको उत्पत्ती भएको हो । सो क्षेत्रका केही संरचना मंगलबार भत्काइएका छन् । बारम्वार सुचना जारी गर्दा पनि नभत्काए पछि उपमहानगर आफैले भत्काउन सुरु गरेको मेयर पौडेलले बताए ।
टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६–६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवैतर्फ ६–६ मिटर नछोडिकन बनेका भवन संरचना हटाउन सुरु गरेको हो ।
अघिल्लो पटक भत्काउने प्रयास गर्दा पनि ठाउँ ठाउँमा विरोध आउने र स्टेअर्डर जारी हुने हुँदा काम रोकिने गरेको थियो । यो पटक पनि स्थानीयले विरोध सुरु गरेका छन् । तर इटहरीको दीर्घकालिन विकास र समग्र इटहरी वासीको धनजनको सुरक्षाको लागि खोला पैनी व्यवस्थित गर्न आवश्यक रहेको मेयर पौडेल बताउँछन् । ‘संरचना क्लियर गरेपछि बाढी घरमा पस्न पाउँदैन,’ पौडेलले भने, ‘खोला किनारकै घर र वस्तीलाई पहिलो फाइदा पुग्ने भएकोले केही विरोधका बाबजुद स्थानीयले सहयोग गरेका छन् ।’
इटहरी उपमहानगरपालिका भित्र २० वटा वडामध्ये बाढीबाट विशेष गरी ३, ४, ९, १०, ११ र १२ नम्बर वडा प्रभावित हुने गरेका छन् । २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो । त्यसको अघिल्लो वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो भने अन्नबाली र भौतिक पूर्वाधारमा क्षती पुगेको थियो।
२०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरि दिएको थियो। त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुवानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुुटसम्म जमिन पाङे माटोले पुरेको थियो । विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन्। तर, त्यस दिन इटहरीका मानव वस्तीमा बाढी प्रवेश गरेको थियो।
खोलाको संरचना क्लियर गरेपछि खोलाको दुवैतर्फ २०–२० फुट बाटोसमेत निकालिने हुँदा पर्यटन प्रबद्र्धन हुने, स्थानीयलाई आवतजावतमा सहजता हुने र खोलाको ब्युटिफिकेसनमा सहयोग पुग्ने बताइएको छ ।