लागूऔषधसहित झापाबाट नौ जना पक्राउ

न्युजलय २१ साउन २०८१, सोमबार ०१:०३ मा प्रकाशित

झापा । झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ५ का ३२ वर्षीय विजय मगर, ३७ वर्षीय विदुर मगर, मेचीनगर नगरपालिका ९ का ४५ वर्षीय शेरबहादुर लिम्बू र माई नगरपालिका २ इलामका ३० वर्षीय रुपेश ढुंङ्गानालाई १ ग्राम ५४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाउँपालिका ३ इलाम घर भई दमक नगरपालिका ५ मा डेरा गरी बस्दै आएका २६ वर्षीय अगम राई र कमल गाउँपालिका ५ का ३६ वर्षीय जीवन लिम्बूलाई ५ ग्राम ब्राउनसुगर र नगद २९ हजार ४५० रुपैँयासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ९ का २६ वर्षीय अजय धिमाललाई १ ग्राम ब्राउन सुगरसहित र मेचीपुल बिटबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ बाट ५५० मिलिग्राम ब्राउनसुगरसहित इलाम चुलाचुली ३ का २८ वर्षीय विवेक राईलाई पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।