सुनसरी । इटहरी भलिबल क्लबको आयोजनामा कोशी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८२ सञ्चालन हुने भएको छ।
प्रतियोगिता २०८२ साल माघ ७ गतेदेखि १० गतेसम्म इटहरी रंगशालामा आयोजना गरिने क्लबले जनाएको छ।
क्लबको पहिलो चरणको कार्यक्रमका रूपमा आयोजना हुन लागेको यस प्रतियोगितामा कोशी प्रदेशअन्तर्गतका विभिन्न पालिकाका प्रतिष्ठित टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य उद्देश्य खेलाडी, सम्बन्धित निकाय तथा खेलप्रेमीबीच आपसी समन्वय विकास गर्दै भलिबल खेललाई स्थानीय, प्रादेशिक हुँदै राष्ट्रिय स्तरसम्म संस्थागत रूपमा अघि बढाउनु रहेको आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख ८० हजार खर्च अनुमान गरिएको छ। प्रतियोगितामा प्रथम पुरस्कार १ लाख तथा द्वितीय पुरस्कार ५० हजार प्रदान गरिनेछ। सेमिफाइनलमा पराजित हुने दुई टिमलाई प्रति टिम १० हजार सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा राष्ट्रिय स्तरका बढीमा तीन जना खेलाडी मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।