न्याय पाए लालबहादुरले, जिल्लाको फैसला उच्चले उल्टायो

न्युजलय १६ साउन २०८०, मङ्गलबार ०८:१४ मा प्रकाशित

विराटनगर । ठगी आरोपमा जेल परेका सुनसरीको इटहरीका लालबहादुर विश्वकर्माले उच्च अदालतबाट सफाइ पाएका छन् ।


उच्च अदालत विराटनगरले मंगलबार लालबहादुर विश्वकर्मासहितका तीन जनालाई सफाइ दिएको हो । उनीसँगै जेल परेका आरोपितहरु र ठगीबाट पीडितहरुले उनी निर्दोष रहेको बताउँदा बताउँदै पनि उनलाई जिल्ला अदालत सुनसरीले सवा तीन करोड रुपैया बिगो र जेल सजाय सुनाएको थियो ।


उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले मंगलबार विश्वकर्मालाई बिनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो । बिना इजाजत बैंक तथा वित्तीय कारोबारमा उनीसँगै कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्चले सफाइ दिइएको छ ।


तरहरामा सञ्चालनमा रहेको सिंहदेवी ज्वेलर्सविरुद्ध बचतकर्ताहरुले उजुरी हालेका थिए । उजुरीमा ज्वेलर्समा कालिगडका रूपमा कार्यरत लालबहादुर विकलाई पनि विपक्षी बनाइएको थियो । २०७८ पुस १९ गते सुनसरी जिल्ला अदालतले ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेरसहित सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र लालबहादुरविरुद्ध १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गरेको थियो । जसमा लालबहादुरलाई ४ करोड ७१ लाख १६ हजार ७ सय २२ रुपैयाँ २५ पैसा बिगो र ७० हजार जरिमानासहित तीन वर्ष जेल सजाय सुनाइएको थियो ।


लालबहादुर कालीगढ मात्र हुन् । ज्वेलर्स सञ्चालकले अह्राएअनुसार रकम बुझेको हस्ताक्षर गरेका कारण उनी पनि अनुसन्धानमा तानिएका थिए । सोहीक्रममा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो । जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको यो मुद्दामा आज फैसला भएको हो ।

यसरी फँसे लालबहादुर, उच्च अदालतबाट न्याय पाउने आश

लालबहादुर विकको परिवार भन्छ, ‘गरिबले न्याय पाउँदैन रहेछ’ (भिडियो)