इटहरी । इटहरीको तरहरास्थित सिंहदेवी ज्वेलर्समा काम गर्ने इटहरी १९ का लालबहादुर विक चार महिनायता जेलमा छन् । आफ्ना मालिकले अह्राएअनुसार पासबुकमा पैसा बुझेको हस्ताक्षर गरेकै आधारमा उनी ठगी मुद्धामा दोषी ठहर भइ झुम्का कारागारमा राखिएका हुन् ।
जिल्ला अदालत सुनसरीबाट दोषी करार भएर जेल परेका उनी निर्दोष रहेको भन्दै उनलाई न्याय दिन र रिहाइको लागि सुनसरीका युवाहरु एकजुट भएर लागेका छन् । देशभरबाट उनको रिहाइको लागि आवाज उठिरहेको छ । लालबहादुरले उच्च अदालतमा पुनरावेदन दिएका छन् । उच्च अदालतले आफूलाई फँसाइएको कुरा बुझेर न्याय दिने आशमा छन् । तर पाँचदेखि उनको पेसी सरेको सर्यै छ ।
यसरी फँसे लालबहादुर
सुन पसलका मालिक दीपक विश्वकर्मा हुन् । त्यो बेला सुनसरीका धेरै सुन पसलजस्तै दीपक पनि सुन धितो राखेर पैसा लगानी गर्थे । त्यसको लागि उनी ग्राहकसँगै पैसा उठाउँथे । दीपकले सिंहदेवी मनी ट्रान्सफर र सिंहदेवी इन्डस्ट्रिज प्रालिका नाममा पैसा उठाउँथे । बैंकले भन्दा राम्रो (१८ प्रतिशतभन्दा बढी) ब्याज दिने भएपछि दीपककोमा पैसा र सुन राख्नेहरुको लाइन लाग्थ्यो । यसरी दीपकले सर्वसाधारणबाट झण्डै १९ करोड रुपैयाँ सङ्कलन गरे । दीपक नभएको बेला उनका बुवाले पसल हेर्थे । लेखपढ नआउने हुँदा रकम लिएपछि पासबुकमा लालबहादुरलाई पैसा बुझिलिएको हस्ताक्षर गर्न लगाउँथे ।
पछि दीपकको कारोबार बिग्रिएपछि पैसा फिर्ता नपाएको भन्दै २०७५ सालमा २७५ जनाले प्रहरीकोमा उजुरी हाले । दीपक, उनका बुबा कृष्ण, दिदी सीतासँगै लालबहादुरसमेतलाई विपक्षी बनाइ जिल्ला अदालत सुनसरीमा मुद्धा दर्ता भयो । उनीहरु सबैलाई जिल्ला न्यायाधीश निर्मला योङ्याले इजाजत नलिई बैंकिङ तथा वित्तीय कारोबार गरेको र सर्वसाधारणको रकम उठाएर ठगी गरेकामा दोषी ठहर्याइन् ।
२१ हजार रुपैया तलब पाउने लालबहादुरको भागमा पौने पाँच करोड बिगो
जिल्ला अदालतले २ सय ७५ जनाबाट १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ लालबहादुरसहित चार जनाबाट दामासाहीले बिगो भराउने फैसला गरिदियो । जसअनुसार लालबहादुरले ४ करोड ७१ लाख १६ हजार ७ सय २२ रुपैयाँ २५ पैसा बिगो तिर्नुपर्छ ।
त्यसबाहेक लालबहादुरलाई डेढ वर्ष कैद र ७० हजार रुपैया जरिवानासमेत तोकिएको छ ।
विदेशमा काम गरेर कमाएको थोरै पैसाले जोडेको सानो जग्गा र घरबाहेक केही नभएका लालबहादुर यो जुनीभरी पौने पाँच करोड तिर्न सक्ने अवस्थामा छैनन् । उनी सुन पसलमा काम गर्दा २१ हजार रुपैया तलब पाउँथे । त्यही तलबबाट परिवारको गुजारा चल्थ्यो । अझैपनि उनी र उनको परिवारलाई जिल्ला अदालतको फैसला पत्यार नै लागेको छैन । आफूले लिँदै नलिएको करोडौं पैसा हस्ताक्षर गरेकै भरमा तिर्नुपर्ने फैसला भएपछि उनी छाँगाबाट खसेझैँ भएका छन् ।
दीपकको परिवारले नै भनिरहेको छ, ‘लालबहादुर निर्दोष छन्’
थुनछेक आदेशका क्रममा सुनसरी जिल्ला अदालतले लालबहादुरलाई छाडेर बाँकी तीन जनालाई पुर्पक्षका लागि अदालत पठायो । लालबहादुरसँग दुई लाख रुपैया धरौटी मागियो । चन्दा उठाएर लालबहादुरले पैसा तिरे ।
पछि अदालतको बहसका क्रममा सरकारी वकिल कार्यालयले मतियार भएको भन्दै सचेत हुनुपर्ने भन्दै बहस गर्यो । त्यो बेलामा दीपक, उनका बुबा कृष्णलगायत उजुरीकर्ता पीडित पक्षले लालबहादुर निर्दोष रहेको बयान दिएका थिए । तर, जिल्ला अदालतले कसैको कुरा नसुनी लालबहादुरलाईसमेत दोषी फैसला गरिदियो ।
कमाउने मान्छे जेल परेपछि घर चलाउनै गाह्रो
काम गरेर पाएको थोरै तलबले घरखर्च चलाउने लालबहादुर जेल परेपछि अहिले परिवारमा आर्थिक समस्या छ । एकातिर खान, लाउनको समस्या छ भने अर्कोतिर लालबहादुरको मुद्धाको लागि अदालत धाइरहँदा लाग्ने खर्चको अभाव । लालबहादुरका कानुन व्यवसायी नीराजन ओझाका अनुसार यस्तो मुद्धा जरिवाना र बिगोबराबरको रकम तिरेर बाहिरै बसेर पनि लड्न पाइने व्यवस्था छ । तर लालबहादुर त्यती पैसा तिर्न सक्ने अवस्थामा छैनन् ।
मालिक र पीडित दुवैले लालबहादुरले ठगी नगरेको बयान दिँदा पनि दोषी ठहर गरिएको फैसलालाई उच्चले सच्याउनेमा उनी आशावादी रहेको बताउँछन् ।
२०७९ साउनमा उच्च अदालतमा पुनरावेदनको लागि पुगेका लालबहादुरको पेसी छपटक तोकिँदा पाँच पटकसम्म पनि सरेको छ । कहिले हेर्न नमिल्नेमा परेर त कहिले दीपक पक्षका कानुन व्यवशायीको आग्रहका कारण मुद्धा सरेको छ ।