सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुनसरीका तीन जना पत्रकारलाई सम्मान गरेको छ ।
इटहरीस्थित कस्तुरी कलेजमा आयोजित हिसान स्पोर्टस मिट २०८० को समापनको अवसरमा पत्रकारिताको माध्यमबाट शैक्षिक जागरण तथा सचेतना विकास गर्न योगदान पु¥याएको भन्दै पत्रकार अर्जुन सुवेदी, भोजराज श्रेष्ठ र जयकृष्ण यादवलाई जनही नगद १० हजार पुरस्कारसहित सम्मान गरेको हो ।
सुबेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् भने श्रेष्ठ ब्लाष्ट टाईम्स दैनिकका कार्यकारी सम्पादक हुन् । यसैगरी यादव गोरखापत्र दैनिकका इनरुवा संवाददाताको रुपमा कार्यरत छन् । उनीहरुलाई हिसानका केन्द्रिय उपाध्यक्ष युवराज शर्मा, केन्द्रिय सदस्य बलराम पन्त, मुकुन्द घिमिरे, गंगाप्रसाद चौलागाई, सल्लाहकार लेखनाथ घिमिरे लगायतले दोसल्ला र सम्मानपत्र सहित नगद पुरस्कारले पुरस्कृत र सम्मानित गरे ।
हिसान सुनसरीले प्रत्येक वर्ष शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आएको अध्यक्ष सागरप्रसाद भटराईले बताए । यसअघि यो पुरस्कारबाट पत्रकार भैरव आङ्ला, सुबिद गुरागाई र हिमाल दाहाल सम्मानित भइसकेका छन् ।
लोक नृत्य प्रतियोगितामा धरान आदर्श प्रथम
यसैबिच हिसान सुनसरीको लोक नृत्य प्रतियोगितामा धरान आदर्श उच्च मावि प्रथम भएको छ । इटहरीस्थित कस्तुरी स्कुलमा सम्पन्न थारु लोक नृत्य प्रतियोगितामा धरान आदर्श सहभागी १९ वटा विद्यालयलाई पछि पार्दै च्याम्पियन बनेको हो । यस्तै इटहरीस्थित नमुना कलेज दोस्रो र कस्तुरी कलेज तेस्रो भएको छ भने कोशी सेन्टजेम्सले सान्त्वना स्थान हाँसिल गरेको छ ।
यो पटकको हिसान स्पोर्टस् मिट भव्यताका साथ सम्पन्न भएको छ ।