काठमाडौं । नेपाल आयल निगमले आन्दोलनका कार्यक्रम फिर्ता लिन पेट्रोलियम ढुवानी व्यवसायी महासंघसँग आग्रह गरेको छ । साउन १६ गतेबाट पेट्रोलियम पदार्थको पिडिओ नलिने एवं लोड नगर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको निगमले जनाएको छ ।
निगमले महासंघका मागहरू समाधान गर्न पहल भइरहेकाले धैर्य गर्न आग्रह गरेको छ । ‘निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव हाल मुलुक बाहिर रहनु भएकोले वहाँ फर्केर आए पछि मागको सन्दर्भमा यथाशीघ्र समाधान गरिने भएको हुँदा पेट्रोलियम पदार्थहरूको आपूर्ति तथा विक्री वितरणमा अवरोध पुर्याउन त्यहाँबाट चरणबद्ध रूपमा सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रमहरू आजैका मितिबाट फिर्ता लिई अत्यावश्यक पेट्रोलियम पदार्थहरूको आयात, ढुवानी एवं विक्री वितरण सहज बनाउने कार्यमा सदाझैँ सहयोग गर्नुहुन हार्दिक अनुरोध छ’, आयोगले महासंघलाई पठाएको पत्रमा उल्लेख छ ।
महासंघले आइतबार विज्ञप्ति जारी गरेर सोमबारदेखि लागू हुने गरी चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।