दमकको सार्वजनिक जग्गा व्यक्तिगत बनाएको आरोपमा १८७ विरुद्ध भ्रष्टाचार मुद्दा

न्युजलय १४ फाल्गुण २०८०, सोमबार ०७:२१ मा प्रकाशित

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापा दमकमा रहेको सार्वजनिक जग्गा हिनामिना आरोपमा नौ जना कर्मचारीसहित १८७ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ । 


सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक र कार्यालयका अरु ८ जना कर्मचारीसमेत गरी १८७ जनाविरुद्ध आरोप पत्र दायर गरिएको हो । 


जग्गा आफ्नो नाममा दर्ता कायम गरेका शुरु जग्गा दर्तावाला ६५ जना र विगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका ११३ जना गरी जम्मा प्रतिवादीको संख्या १८७ विरुद्ध मुद्दा दायर भएको हो ।


साविक दमक ६ग को सर्पट नापीको समयमा दमक नगरपालिका वडा नं. १३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तर तर्फ) कित्ता नम्बर ७६०.१,७६१,७६२,७७३,७८३,७८४,७८६,७८७,७८८ र साविक दमक ६ग र दमक ५ख बिचको मार्जिनका जग्गाहरु २०२१ सालको नापीमा सरकारी सार्वजनिक भएको पाइएको थियो । पछि ती विभिन्न व्यक्तिहरुको नाममा जग्गादर्ता भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।


१८ विगाहा १७ कठ्ठा १३ धुर जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम भएको बताइएको छ । अहिले ती सबै जग्गाको न्युनतम मूल्याङ्कन ४१ करोड ६२ लाख बढी छ ।