मोरङ । मोरङको सुन्दरहरैंचा –५ स्थित नयाँ वृन्दावन गौशालामा निर्माण भएको गाईको विश्वकै अग्लो प्रतिमा अनावरण गरिएको छ । फाइबरको कच्चा सामाग्री प्रयोग गरेर बनाइएको गाईको ३५ फिट अग्लो प्रतिमालाई एक तलाको भवनमाथि स्थापित गरिएको छ ।
चैत ७ गतेदेखि सुरु भएको श्रीमदभागवत ज्ञान महायज्ञ चलिरहेका समयमा होलीसमेतको अवसर पारेर उक्त प्रतिमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अनावरण गरेका हुन् । एक तले भवन सहित उक्त प्रतिमा १ करोड ५० लाख रुपियाँ लागतमा निर्माण सम्पन्न भएको नयाँ वृन्दावन गौशालालाई व्यवस्थित गरिरहेको राधेश्याम सेवा ट्रस्टका संरक्षक दीनबन्धु शास्त्रीजी महाराजले जानकारी दिए ।
२०६५ सालमा स्वामी दीनबन्धु शास्त्रीले श्रीराधेश्याम सेवा ट्रष्टको गठन गरी सो क्षेत्रमा मन्दिर, आश्रम, गौशाला निर्माण गरी सञ्चालनमा ल्याएका थिए । आज सो ठाउँ पुर्वकै विशिष्ट धार्मिक क्षेत्र बनेको छ ।
नयाँ वृन्दावनको मुख्य आकर्षणका रुपमा सबै गोत्रका प्रवर्धक ऋषिहरूको धातुको प्रतिमा, वैदिक गुरुकुल, प्रदेशकै ठूलो राधाकृष्ण मन्दिर, विभिन्न मन्दिरहरु, गाईहरुको आश्रयस्थलका रुपमा गौशाला आदि रहेका छन् ।
गाईको प्रतिमा उद्घाटनसँगै विगत वर्षमा झै यस वर्ष पनि होली मिलन महोत्सव आयोजना गरिएको छ । जसमा फूलको होली खेलिएको छ । वृन्दावनमा श्रीकृष्ण सहित गोपिनीहरुले फुलको होली खेलेको किंम्बदन्ति रहेको छ ।
कार्यक्रममा सुनसरी, मोरंग, झापा, धनकुटालगायत जिल्लाबाट सर्वसाधारणहरु आएका थिए ।