असोज १ गतेदेखि पेट्रोल ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी

न्युजलय २९ भदौ २०७९, बुधबार ०१:४६ मा प्रकाशित

वीरगञ्ज । दशैं नजिकिँदै गर्दा व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।


असोज १ गतेबाट देशभरका सबै डिपोहरुमा लोड तथा अनलोड नगर्ने चेतावनी पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले दिएका छन् ।

 

व्यवसायीले राखेको माग पुरा नभएकोले पूर्व निर्धारित आन्दोलनका कार्यक्रम यथावत राखिएको नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले जानकारी दिए ।


महासंघको भदौ २२ गतेको निर्णय अनुसार भदौ २४ गतेदेखि सम्पूर्ण ढुवानी व्यवसायीले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ लिन छोडेका छन् ।

 

देशभरका कुनैपनि क्षेत्रबाट पीडीओ नलिने कार्यक्रमलाई यथावत राख्दै भदौ २९ गतेदेखि अमलेखगञ्ज डिपोबाट अन्यत्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोडिङ गर्ने र असोज १ गतेबाट राज्यभरका सबै डिपोमा लोड तथा अनलोड नगर्ने महासंघ अध्यक्ष बोहोरा बताउँछन् ।


नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा समायोजनलगायत माग राख्दै आएको छ ।