इटहरी । कलालय इटहरीको टिम नाटक प्रस्तुतिका लागि भारत प्रस्थान गरेको छ । आइतबार भारतको कलकत्तास्थित कल्याणनगरमा नाटक ‘शत्रु’ प्रस्तुत गरिनेछ ।
यसअघि कलकत्ताकै श्यामनगर र कृष्णनगरमा नाटक ‘हिरासत’ र ‘शत्रु’ प्रस्तुत गरेको टिमले यसपटक कल्याणनगरमा नाटक ‘शत्रु’ प्रस्तुत गर्ने कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।
उनै जयन्तीको नेतृत्वमा कलालयको टिम शनिबार भारतको कलकत्ता प्रस्थान गरेको हो ।
‘नवौँ कनक रोय अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा कलालय इटहरीले प्रस्तुति दिने जयन्तीले बताए ।
उनका अनुसार उक्त महोत्सवमा नेपाल, भारत, बङ्गलादेशलगायतबाट नाटक प्रस्तुत हुनेछन् ।
प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको कथा शत्रुलाई नाट्य रूपान्तरण गरी नाटक प्रस्तुत गरिएको हो । नाट्यकर्मी प्रज्वल पराजुलीद्धारा निर्देशित उक्त नाटकलाई इटहरीसहित विभिन्न क्षेत्रका दर्शकहरूले रुचाएका थिए ।