इटहरी । इटहरीस्थित एक आपस बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २० औं साधारणसभा सम्पन्न गरेकोछ । साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को सांगठानिक र आर्थिक प्रतिवेदन पास गरेको छ ।
साधारणसभाको खुलासत्रमा ज्येष्ठ नागरिक बचतकर्ताहरुलाई सम्मान गरिएको थियो । जसमा ९८ वर्षिय कृष्णप्रसाद चुँडाल, ९० वर्षिय खड्गबहादुर कार्की, ८४ वर्षिय मौलबहादुर राई, ८२ वर्षिया भोजकुमारी न्यौपाने, ८१ वर्षिय शिवप्रसाद घिमिरे र सुर्यकुमारी बस्नेत र ८० वर्षिय भिमलाल ढकाल छन् । यसैगरी विभिन्न शीर्षकमा विभिन्न शेयर सदस्य बचतकर्ता, ऋणीहरुलाईसमेत सम्मान गरिएको थियो ।
१ करोड ८५ लाख रुपैया शेयर पुँजी रहेको यो संस्थाले गत आर्थिक वर्ष ३२ लाख १८ हजार रुपैया नाफा गरेको वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८.३ प्रतिशत हो । गत आर्थिक वर्ष आम्दानी २० प्रतिशतले बढेर झण्डै डेढ करोड पुगेको र खर्च पनि १९ प्रतिशतले बढेको जनाइएको छ । संस्थाले ९ लाख ७८ हजार रुपैया ७६० शेयर सदस्यहरुलाई बोनस बाँडिने जनाएको छ ।
संस्थाले शेयर सदस्यहरुलाई व्यवशायीक तथा आर्थिक रुपमा सक्षम बनाउन विभिन्न तालिमका साथै सहुलियत ऋणहरुसमेत प्रवाह गरिरहेको जानकारी साधारणसभामा दिएको थियो ।
इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरीको प्रमुख आतिथ्यमा भएको साधारणसभाको खुलासत्रमा बोल्दै उपमेयर चौधरीले सहकारीहरुको विकासका लागि उपमहानगरपालिका लागिपरेको बताइन् । उनले मर्यादित भएर कारोबार गर्नसमेत सल्लाह दिइन् ।