नवौं राष्ट्रिय खेलकुदः राष्ट्रिय कीर्तिमानसहित सोम र रमितालाई स्वर्ण

न्युजलय ३२ असोज २०७९, मङ्गलबार ०४:४२ मा प्रकाशित

काठमाण्डौ  । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ४ सय मिटर दौडमा विभागीय त्रिभुवन आर्मीका क्लबका सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेका छन् ।

पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको स्पर्धामा सोमले निर्धारित दुरी ४७.९५ सेकेन्डमा पूरा गर्दै  स्वर्ण जितेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ४८.२० सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान सुधार गरे । 

४ सय मिटर पुरुष दौडमा इलेक्ट्रिक टाइमिङको कीर्तिमान आशाराम चौधरीको नाममा छ । उनले सन् १९९० को बेइजिङ एसियन गेम्समा ४८.३२ सेकेण्डको समय निकाल्दै यो कीर्तिमान कायम गरेका थिए । 

महिलातर्फको ४ सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्ने क्रममा निर्धारित दुरी ५८.१० सेकेन्डमा पूरा गरिन् ।

रमिताले दिलमाया कार्कीको नाममा रहेको ५८.५० सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान तोडेकी हुन् । दिलमायाले २०१० मा ढाकामा उक्त कीर्तिमान बनाएकी थिइन् ।