काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति सार्वजनिक भएको दिन आइतवार(आज ) शेयर बजार उच्च अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ६३ दशमलव २४ अङ्कले बढेर दुई हजार दुई सय २७ दशमलव १६ विन्दुमा पुगेको छ । नेप्से छ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बैंकिङ, बीमा, व्यापार र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ ।
आज एक करोड २० लाख दुई हजार कित्ता शेयर चार अर्ब ३७ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज किसान लघुवित्त, चन्द्रागिरि हिल्स र लिबर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै स्वरोजगार लघुवित्त, ग्लोबल आईएमई बैंक र कालिञ्चोक दर्शन प्रालीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।