इटहरी सरकारसँग व्यवशायीको अनुरोध, 'साहुहरु घरमा आउन थालिसके, अब त भुक्तानी दिनुस्'

न्युजलय ३१ बैशाख २०८२, बुधबार ०९:११ मा प्रकाशित

इटहरी । लामो समयसम्म पनि भुक्तानी नपाएपछि इटहरीका उपभोक्ता र व्यवशायीहरु इटहरी उपमहानगरपालिकासँग रुष्ठ र आजित बनेका छन् । 


विकासमा सहभागिता जनाएका उपभोक्ताहरुदेखि ठेक्का पारेर काम गरेका व्यवशायीहरुसम्म रुष्ठ बनेका हुन् ।


उनीहरुमध्ये कतिपय शक्तिकेन्द्र धाउन थालेका छन् भने कतिले सामाजिक सञ्जालमार्फत् असन्तुष्टी राख्न थालेका छन् । 


विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेका व्यवशायी समिर कार्कीले साहुहरुले घर घेर्न थालेको दुःखेसो पोख्दै भुक्तानी दिन आग्रह गरेका छन् । दिवा खाजा कार्यक्रमबाट उनले तीन करोड हाराहारी पैसा पाउन बाँकी रहेको बताउँदै आएका छन् । पैसा नपाएपछि कार्यक्रम नै बन्द गरेका उनले भुक्तानीको लागि दिनहुँ धाउँदा पनि नपाएको गुनासो गरेका छन् । 


उपमहानगरपालिकाले पैसा नभएको भन्दै भुक्तानी नदिएको उनको भनाई छ । उनले लेखेका छन्:-


मेयर, उपमेयर, वार्ड प्रमुख, तपाईहरुमा अलि कति लाज सरम भन्ने छ कि छैन तपाईहरु मा नैतिकता छ कि छैन काम लगाए पछि पैसा दिनु पर्छ कि पर्दैन कि हामीहरुले चोरेर ल्याएको पैसा हो हाम्रो समस्या हुदैन कि भुक्तानी न दिने नियत हो । 

हामीले कर्मचारीको तलब दिनु पर्दैन, बजारको बाँकी तिर्नु पर्दैन ? मेयर हेमकर्ण पौडेलज्यु, उपमेयर संगिता चौधरीज्यु कुरा के हो ? तपाईहरु फोटोमा जति खुसी हुनुहुन्छ हामी त्यती नै दुःखी छौँ । व्यवहार बिग्रीसको साहु हरु घर मै आउन थाली सके अब त भुक्तानी दिनुस ।


इटहरीभरीका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई खाजा खुवाउने गरी उपमहानगरपालिकाले खोलेको टेण्डर कार्की सञ्चालक रहेको एरिना टिफिनले  २०८० मंसिरदेखि पाएको थियो । उनले ४७ रुपैयाका दरले खाजा खुवाउने गरी टेण्डर पारेका थिए । संघीय सरकारले १५ रुपैया दिँदै आएकोमा बाँकी पैसा उपमहानगरपालिकाले दिने भनेको थियो । तर त्यो पैसा नदिएपछि आर्थिक वर्षको अन्त्यसँगै कार्यक्रम सकिएको थियो ।


त्यसपछि पनि उपमहानगरपालिकाले विद्यालयहरुलाई ३० रुपैयाको खाजा खुवाउन परिपत्र गरेको थियो । जसअनुसार १५ रुपैया पालिकाले थपिदिने भनेको थियो । तर पालिकाले खाजा वापतको भुक्तानी दिन सकेकोछैन । आफैले ३० रुपैयाको खाजा खुवाउँदै आएका विद्यालयहरु पनि १५ रुपैयामै झार्ने कि के गर्ने भन्ने अन्योलमा छन् ।


त्यसो त उपमहानगरपालिकाले उपभोक्ताहरुकै सात करोड रुपैया दिन बाँकी रहेको बताइएको छ । ऋण लिएर र सुन धितो राखेर विकासमा सहभागिता जनाएका उपभोक्ताहरु भुक्तानी नपाएपछि समस्यामा परेका छन् । 


कतिपय त आएर रुनुहुन्छ, हामी केही टुलुटुलु हेर्न मात्र सक्छौं, एक वडाध्यक्ष भन्छन्, अन्दधुन्द ठेक्कामा पैसा सकिएको छ । मनोमानी कर्मचारी राख्दा तलब खुवाउनै समस्या भएको छ, योजना त यो वर्ष केही भएनन्, उपमहानगरपालिकाको काम गर्न कोही व्यवशायीहरु तयार छैनन् ।


नगरपालिका आर्थिक रुपमा संकटमा परेको बेलामा यहाँ लामो समय प्रमुख प्रशासकीय अधिकृत भएका रामचरित्र मेहताको सरुवा भएको छ । यस्तै उपभोक्ता र व्यवशायीहरु दिनहुँ धाउन थालेपछि कर्मचारी र मेयर, उपमेयर लगायत जनप्रतिनिधि पनि कार्यालयमा भेटिन छाडेका छन् । व्यवशायीहरुले पैसा कहिले पाउँछन् भन्ने जवाफ दिने व्यक्तिहरु नै तर्किन थालेपछि व्यवशायी र उपभोक्ताहरुमा आक्रोश बढेकोछ ।

इटहरीमा प्रमुख प्रशासकीय किन टिकेनन् ? इटहरीका किन बिकेनन् ?