चर्चित भोजपुरी गायक लागुऔषधसहित पक्राउ

न्युजलय २९ साउन २०७९, आइतबार ०१:५६ मा प्रकाशित

काठमाडौं । दिल्ली प्रहरीले एक भोजपुरी सिनेमाका चर्चित गायकलाई लागुऔषध तस्करी गरेको आरोपमा पक्राउ गरेको छ । 

 

दिल्ली प्रहरीको नारकोटिक्स स्क्वाडले अगस्ट १० मा भोजपुर सिनेमाका चर्चित गायक विनय शर्मालाई २१ किलोग्राम गाँजासहित पक्राउ गरेको हो । 

 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्ली प्रहरीलाई विनय नामका एक लागुऔषध तस्कर टोडापुर गाउँ इन्द्रपुरीमा कसैलाई भेट्न आउँदैछन् भन्ने खबर प्राप्त हुन्छ । सूचना प्राप्त हुनासाथ प्रहरीले एक टोली तत्कालै परिचालन गरेर टोडापुरस्थित शास्त्री मार्गलाई घेराबन्दी गरेर विनयलाई गिरफ्तार गरेका थिए ।


प्रहरीले उनको साथबाट साढे २१ किलो गाँजा बरामद गरेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । गायक विनयसँग सोधपुछको काम भइरहेको दिल्ली प्रहरीले जनाएको छ । प्रहरीले विनयले कहाँबाट गाँजा ल्याउँछन् र दिल्लीमा कसलाई दिन लागेका हुन् भन्नेबारेमा पत्ता लगाउने कोसिस गरिरहेको छ । त्यस्तै प्रहरीले यस गिरोहमा कति सदस्य छन्, को–को संलग्न छन् भन्ने कुराको पनि अध्ययन गरिरहेको बताए । 

 

गिरफ्तार भएपछि मात्र उनी भोजपुरी सिनेमाका चर्चित गायक भएको रहस्य प्रहरीलाई थाहा भएको थियो । उक्त घटनाले प्रहरीलाई चकित बनाएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 


सिवान बिहारमा बस्ने विनयले हालसम्म एकसय भन्दा धेरै गीत गाइसकेका छन् ।