होम्ताङ सिली मेला २०८२ः खेलाडीलाई नाङ्लोको मेडल प्रदान

न्युजलय २१ कार्तिक २०८२, बिहिबार १०:२१ मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवगढी गाउँपालिका–५ स्थित होम्ताङमा आयोजित साकेन्वा सिलि मेला सम्पन्न भएको छ । 

५ नं वडाको आर्थिक सहयोगमा साकेन्वा सिलि मेला तथा खेलकुद उपभोक्ता समितिद्वारा आयोजित उक्त मेला बुधबार हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किरातीको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी किरातिले प्राचीन कालदेखी निरन्तर मनाउदै आएको साकेन्वा लगायत समुदायको सांस्कृतिक परम्परालाई जोगाउन रैथाने मेला आयोजनाको महत्वपूर्ण भुमिका रहने र यसको पुस्तान्तरणको लागि युवा पुस्ताले ग्रहण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

हिउँदे भेटघाट र स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले किरात राई जातीको साँस्कृतिक नृत्य साकेन्वा सिली प्रदर्शन, आर्चरी प्रतियोगिता र विभिन्न खेलकुदलाई समेटेर उक्त मेलाको आयोजना गरिएको थियो । कार्यक्रममा परम्परागत धनुषवाँण उपलब्ध गराउनुहुने स्थानीय धन बहादुर राईलाई शिरमा सेतो फेटा गुठाएर सम्मान गरिएको थियो । 

एक साता सम्म सञ्चालन भएको सिली मेलामा आयोजित साकेन्वा सिली प्रतियोगिता, आर्चर्री प्रतियोगिता जस्ता साँस्कृतिक कार्यक्रम सोमबार सम्पन्न गरियो । प्रतिकुल मौसमका कारण रोकिएका फुटबल खेलसँगै मेलाको समापन गरिएको वडाध्यक्ष सुरेश कुमार राईले जानकारी दिनुभयो । 

हतुवागढीको ५ र ६ नं. वडामा पर्ने होम्ताङ बदाम, सुन्तला र नाङ्लो उत्पादनका लागि प्रसिद्ध छ । साविकको होम्ताङ गाविस अन्तर्गतका वडाहरुबीच खेलाइएको फुटबल प्रतियोगितामा पुरस्कृत पुरुष तथा महिला टिमलाई स्थानीय स्तरमा उत्पादन भएको नाङ्लो मेडलको रुपमा प्रदान गरिएको हो । 

होम्ताङमा उत्पादित नाङ्लोलाई प्रत्येकको घर सम्म पुर्याउने र प्रवद्र्धन गर्ने उद्देश्यका साथ खेलाडीहरुलाई नाङ्लोको मेडल प्रदान गरिएको वडाध्यक्ष राईको भनाइ छ ।