इटहरी । विराटनगरको बाल सुधारगृहबाट सुनसरी घर भएका दुई जना बालक फरार फरार भएका छन् ।
उनीहरूलाई अदालतको फैसला र आदेशअनुसार विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा राखिएको थियो ।
दुवै जना मंगलबार दिउँसो भागेका हुन् । फरार हुनेमा एक जना कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर भएका र अर्का जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा पठाइएका बालक छन् ।
कानुनको विवादमा परेर अदालतबाट दोषी ठहर भएका तथा अनुसन्धान गर्नुपर्ने बालकहरुलाई बाल सुधारगृहमा राख्ने गरिन्छ । सुनसरीको कोशी गाउँपालिका–२ र बराहक्षेत्र नगरपालिका–११ घर भएका बालक फरार भएको सुधारगृहले जनाएको छ ।
सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला पर्खाल नाघेर दुवै जना भागेका हुन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।