सुनसरी क्रिकेट संघको अध्यक्षमा सञ्जीव ढुंगाना सर्वसम्मत

न्युजलय ३० जेठ २०८३, शनिवार ०९:०६ मा प्रकाशित

सुनसरी । सुनसरी जिल्ला क्रिकेट संघको अध्यक्षमा सञ्जीव ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष ढुंगाना अघिल्लो कार्यसमितिमा उपाध्यक्ष रहेका थिए ।

इनरुवामा शनिवार सम्पन्न संघको चौथो वार्षिक साधारणसभाले ढुंगानाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अफजल हुसेन, सचिवमा गोविन्द पौडेल र कोषाध्यक्षमा अब्दुल्ला खान सर्वसम्मत चयन भएका छन्। सदस्यहरूमा सिपी पौडेल, विकास निरौला, ताहिर हुसेन, जयव्रत सरकार, रतन रौनियार, आनन्द अग्रवाल, नुनुदास गुप्ता, सुनोज निरौला, शिव यादव र सरोज बस्नेत रहेका छन्।

साधारणसभामा बोल्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोष, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य अर्जुन पौडेल तथा कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले सुनसरीले पछिल्लो समय राष्ट्रिय तथा स्थानीय स्तरका प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए।

साधारणसभाको अवसरमा पत्रकारिता मार्फत क्रिकेट विकासमा योगदान पुर्‍याएको भन्दै कान्तिपुरका सुनसरी संवाददाता अर्जुन सुबेदीलाई सम्मान गरिएको थियो। यस्तै क्रिकेट प्रशिक्षक प्रदीपराज पाण्डे, राजकुमार प्रधान तथा फोटो पत्रकार गुरु ढकाललाई पनि सम्मान गरिएको संघले जनाएको छ।

त्यस्तै उमेर समूहका खेलाडीहरूमा अन्डर–१६ का कविराज खत्री र रबीन मण्डल, अन्डर–१९ का रोहन शाह र समीर कार्की, तथा सिनियर खेलाडीहरूमा प्रकाश कार्की र सुमन गहतराज सम्मानित भएका छन्।

यसैबीच निवर्तमान अध्यक्ष चेतनाथ (सीपी) पौडेलले आफ्नो दुई कार्यकालको अनुभव सार्वजनिक गर्दै सुनसरी क्रिकेटको विकास यात्रा स्मरण गरेका छन्। उनले आफ्नो क्रिकेट यात्रा २०६४/६५ सालतिर इटहरी–१६ मा साथीहरूसँग खेल्दै सुरु भएको र पछि प्रतियोगिता आयोजनासम्म पुगेर जिल्ला क्रिकेट संघसँग जोडिएको उल्लेख गरे।

पौडेलका अनुसार उनको कार्यकालमा संघको कार्यालय स्थापना, नियमित प्रतियोगिता सञ्चालन, राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना तथा क्रिकेट पूर्वाधार विकासका केही महत्वपूर्ण काम भएका छन्। साथै १९ वर्षमुनि र १६ वर्षमुनि टोली प्रदेश च्याम्पियन बन्न सफल भएको र जिल्लामा पहिलोपटक राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको उनले स्मरण गरेका छन्।

उनले सुनसरी क्रिकेटमा अझै धेरै सम्भावना रहेको भन्दै प्रत्येक स्थानीय तहमा क्रिकेट गतिविधि विस्तार, विद्यालयस्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन तथा जिल्ला प्रशिक्षण केन्द्र स्थापना गर्न सके नेपाली क्रिकेटको आधार थप बलियो हुने बताए।

दुई कार्यकाल नेतृत्व सम्हालेर पदबाट बाहिरिन लागेका पौडेलले आफ्नो यात्रामा साथ दिने खेलाडी, प्रशिक्षक, पदाधिकारी र क्रिकेटप्रेमी सबैप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वले सुनसरी क्रिकेटलाई अझ संगठित र व्यावसायिक रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।