काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्नेछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ।
हिमालयन शेर्पा क्लब ५ खेलबाट १ जित, २ बराबरी र २ पराजय व्यहोर्दै ५ अंक जोडेर तालिकाको नवौं स्थानमा छ।
हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले रेलिगेशन क्षेत्रबाट आफूहरु टाढा नभएकोले जोखिम कायमै रहेको बताए।
त्यस्तै समान खेलबाट तीन पराजय, १ बराबरी र १ जित निकालेको च्यासल युथ क्लब ४ अंक जोड्दै १३ औं स्थानमा छ। रेलिगेशन क्षेत्रबाट माथि उठ्नका लागि च्यासलका लागि आजको खेलबाट अंक लिनु महत्वपूर्ण हुनेछ।
त्यस्तै आजै हुने दोस्रो खेलमा अंकतालिकाको शीर्ष दुईमा रहेका मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्लब भिड्नेछन्।
मनाङले ४ जित र १ बराबरी खेल्दै १३ अंक जोडेको छ। त्यस्तै मछिन्द्रले ३ जित र २ बराबरी खेल्दै ११ अंक जोडेको छ। यी दुवै टोलीलाई एएफसी कप छनोट खेल्नका लागि पनि आजको म्याच कोषेढुंगा हुने देखिन्छ।