काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले पुर्वका ११ जिल्लामा रेड अलर्ट जारी गरेको छ । अबको चार दिन यी जिल्लाहरुमा भारी वर्षा हुने भन्दै अलर्ट जारी गरेको हो । देशका सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अति ठूलो वर्षाको चेतावनी महाशाखाले दिएको छ । देशका ५६ वटा जिल्लामा रेड अलर्ट जारी गरेकोमा पुर्वका ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभा बाहेकका ११ वटा जिल्लामा उच्च सावधानी अपनाउन भनेको छ । रेड अलर्ट भएका जिल्लामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रहेका छन् ।
वर्षा गराउने प्रणाली नेपाल नजिक झन् शक्तिशाली बनेकाले वर्षा हुने क्षेत्र र असर बढी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले धान नकाट्न र ट्रेकिङमा नजान पनि आग्रह गरेको छ । विशेषगरी विहीबार दिउँसोपछि ठूलो वर्षाको क्रम सुरु हुनेछ ।
बङ्गालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर आइरहेकोले देशभर उच्च वर्षाको सम्भावना रहेको हो । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ नसरे पनि मनसुन सक्रिय गराउने न्यून चापीय प्रणाली सघनरूपमा विकास भएको हो । यस्तै उपल्लो वायुमण्डलमा पनि न्यून चापीप प्रणाली विकास भएको छ ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । तर यस वर्ष अक्टोबर ७ अर्थात् असोज २१ गतेसम्म रहने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।