काठमाडौँ । चलचित्र ‘कृष्णलीला’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार पुष्प खड्का र नवनायिका श्रद्धा क्षेत्रीको प्रेम र बिछोडलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा अभिनेता पुष्पलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । उनको बोल्ने शैली अन्य फिल्मको भन्दा फरक देखाइएको छ ।
ट्रेलर हेर्दा सुरुवाती समयमा पुष्प र श्रद्धा प्रेममा परे पनि पछि भने प्रहरी गेटअपमा देखिएकी श्रद्धाले पुष्पलाई खोजिरहेको देखाइएको छ । तर के कारणले उनीहरु अलग्गिए भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ । ट्रेलरमा बुद्धि तामाङ, रवीन्द्र झा, हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मीलाई पनि देखाइएको छ ।
अभिनेता पुष्पले ‘कृष्णलीला’मा आफूले अत्यन्तै मिहिनेत गरेको स्मरण गर्दै फिल्मसँग दर्शक कनेक्ट हुने विश्वास जताए । उनले आफू कृष्णको शीर्ष भूमिकामा रहेको खुलाए । फिल्ममा श्रद्धाले लीलाको भूमिका निर्वाह गरेकी छिन्। निर्देशक दीपक वलीले आफूले मनोरञ्जनक फिल्म निर्माण गरेको बताए । ‘कृष्ण लीला’ को यसअघिको ‘ए मेरो हजुर’, ‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘डिएर बन्न मन छ मलाई’ श्रोता दर्शकले मन पराएका छन्।
भदौ ३ गते कृष्ण जन्माष्टमीका दिन प्रदर्शन हुने फिल्ममा पुष्प, श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, आयुषा क्षेत्री, हिउँवाला गौतम तथा बालकलाकार आयुष गुरागाइँ मुख्य भूमिकामा छन् । फिल्मलाई निर्देशक समेत रहेका रंग पत्रकार लक्ष्मण सुवेदीले लेखेका हुन् । फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र प्रकाशराज कार्की तथा केवल तामाङ निर्माता छन् । फिल्मका प्रस्तुत कर्ता रोहित कट्टेल हुन् ।