इटहरी । जेन्जी आन्दोलनका क्रममा आगजनीमा परेको इटहरीस्थित ट्राफिकको प्रदेश कार्यालय भवन प्रयोगमा ल्याउन नसकिने निष्कर्ष निकालिएको छ । आगलागीबाट दुई तले भवनका बिमहरु कमजोर भएपछि भवनलाई प्रयोगमा ल्याउन नसकिने निष्कर्षमा प्रहरी पुगेको हो ।
लत्ता कपडा भएकै कोठामा लागेको आगो भोलिपल्ट मात्र निभ्न सकेको थियो । लामो समयसम्म पनि आगो ननिभ्दा भवनको बिममा क्षती पुर्याएर ढलान र रडलाई आपसमा छुट्याएकोले क्र्याक देखिएको र यस्तो भवन जोखिमपूर्ण हुने निष्कर्ष निकालिएको कार्यालय प्रमुख एसपी दीपक गिरीले जानकारी दिए ।
इन्जिनियरहरुले भवन असुरक्षित रहेको बताएपछि नयाँ भवन बनाउनुपर्ने अवस्था सृजना भएको छ । सँगै रहेका दुई वटा साना साना भवनहरु सामान्य मर्मत गरेर चलाउन सकिन्छ । त्यसको लागि उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको नेतृत्वमा समिति बनेको छ । समितिले काम सुरु गरिसकेको छ ।
ट्राफिकको प्रदेश कार्यालयलाई त्यती संरचना मात्रले पुग्दैन तर नयाँ भवन नबनुन्जेलका लागि ट्राफिक प्रहरी कार्यालयले कहाँ बसेर काम गर्ने भन्ने कुराको टुंगो लागिसकेको छैन । भवन जलेपछि अहिले कार्यालयमा रहेका ८० जना प्रहरीहरु कोही नजिकका आफन्तकोमा त कोही होटलमा शरण लिइरहेका छन् । कोही भने डेरा लिएर बस्ने साथीहरुको आश्रयमा छन् । पोशाक र अत्यावश्यक सामानहरुसमेत जलेकोले नियमित काममा समते फर्कन सकेको छैन ।
एसपी गिरीले भने बसपार्कको टर्मिनल भवनको एउटा तला प्रयोगमा ल्याउने प्रस्ताव गरेका छन् । ‘त्यसको लिजवापतको ट्याक्स सरकारलाई तिर्ने गरी भएपनि त्यहाँको एउटा तला प्रयोगमा ल्याउन पाइयो भने सहज हुन्थ्यो,’ उनले भने । अहिलेको कार्यालयभन्दा नजिकै रहेकोले पनि उक्त ठाउँ उपयुक्त रहेको उनको भनाई छ ।
हुन त त्यो संरचना पसलहरु राख्ने गरी बनाइएको हो । त्यसलाई कार्यालयको स्वरुप दिनका लागि पनि खर्च गर्नुपर्ने अवस्था भएकोले गर्दा आफूहरु अलमलमै रहेको र उपमहानगरपालिकासँग कुरा गरिरहेको डीएसपी सन्तोष श्रेष्ठले बताए । ‘अर्को ठाउँ भनेको नगर प्रहरीको लागि बनेको भवन पनि छ, तर त्यहाँ रहेका नगर प्रहरीलाई कहाँ राख्ने भन्ने कुरा उपमहानगरको छ,’ उनले भने ।
यता इटहरी वडा नं. ९ का वडाध्यक्ष जितेन्द्र थापाले भने टर्मिनल भवनमै बस्ने व्यवस्थापनका लागि आफूले पहल गर्ने बताएका छन् ।
त्यसो त इटहरी चोकमा रहेको इलाका प्रहरी कार्यालय पनि आगोले पूर्ण रुपमा क्षतीग्रस्त हुँदा अस्थायी रुपमा तरहरा चौकीमा सरेको छ । इलाका प्रहरी कार्यालयलाई पनि तत्कालका लागि सोही बस टर्मिनल भवनमै राख्ने भन्ने कुरा चलेको थियो ।
ट्राफिक कार्यालयले उपयुक्त संरचना नपाएको खण्डमा इटहरीबाहिर जानसक्ने सम्भावनासमेत छ । ‘प्रदेश कार्यालय भएको हिसाबले हामीलाई यो संरचना इटहरीबाट जान्छ कि भन्ने डर छ,’ नागरिक समाज इटहरीका पुर्वअध्यक्ष राजु केसीले यसअघिपनि बाल अस्पताल इटहरीमा राख्न नसकेर दमक गएको बताउँदै भने, ‘त्यसैले कार्यालयलाई उपयुक्त स्थानमा राख्नलाई उपमहानगरपालिका र इटहरीवासीले पहल गर्नुपर्छ ।’