भारतमा गाँजा पुर्‍याउन प्रयोग गरिएको कारसहित दुई जना पक्राउ

न्युजलय ३१ भदौ २०८१, सोमबार ०२:२७ मा प्रकाशित

विराटनगर । लागुऔषध गाँजा भारत कटाउन प्रयोग गरिएको एउटा कारलाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ। 

गाँजा लोड गरेर विराटनगर हुँदै भारततर्फ जाँदै गरेको बा ८ च ७८८० नम्बरको कारलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। कार चालकसहित २ जना पक्राउ परेका छन्। मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलोग्राम गाँजासहित कारलाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ । 

भारतको जोगवनीतर्फ जाँदै गरेको कारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा पछाडिको सिटमा लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध गाँजा भेटिएको बताइएको छ ।

गाँजा बरामद भएपछि कारसहित चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार र गाँजासहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।