नेपालमा टिकटक आधिकारिक रूपमा सूचीकृत

न्युजलय २१ कार्तिक २०८१, बुधबार ०३:१९ मा प्रकाशित

  काठमाडौँ । सामाजिक सञ्जाल टिकटक नेपालमा सूचीकृत भएको छ । प्रक्रिया पुर्‍याएर टिकटक सूचीकृत भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले राखेका सबै शर्त र सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमत भएपछि सूचीकृत गरेर प्रमाणपत्र दिएको बताइएको छ । टिकटकले हिजो नेपालमा सूचीकृत भएको प्रमाणपत्र पाएको छ ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका शर्तहरू पनि पूरा गर्ने जनाएको छ ।

टिकटक अब आधिकारिक रूपमा नेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ । यसअघि सरकारले २०८० सालको कात्तिक २७ गते नेपालमा टिकटक बन्द गरेकोमा गएको भदौ १९ गते प्रतिबन्ध हटाएको थियो ।

टिकटक नेपालमा सूचीकृत भएको तेस्रो सामाजिक सञ्जाल बनेको छ । यसअघि भाइबर र विटक सूचीकृत भएका छन् ।