धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अप्रेसनका क्रममा आइतबार राति मृत्यु भएको छ ।
पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव हुँदा डाक्टरले फेरि अप्रेसन गरेर बायाँ मिर्गौला नै झिकिदिएको चौधरीका आफन्तले बताएका छन् ।
धनगढीस्थित स्वस्तिक मल्टिस्पिसियालिटी अस्पताल प्रालिमा शुक्रबार भर्ना गरिएका चौधरीको बायाँ मिर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलामा रहेका पत्थरी झिक्न अप्रेसन गरिएको थियो ।
बिरामीका भतिजाका अनुसार ‘अप्रेसन सकिएपछि डाक्टरले सुरुमा अप्रेसन राम्रो भो भने । झिकेको पत्थरी पनि देखाए । बुबाले पेट दुख्यो भन्नु भो, हामीले डाक्टरलाई भन्यौं, डाक्टरले सुई लगाए । तर निको भएन । पेट फुल्न थाल्यो । त्यसपछि हामी आत्तियौं ।’
राजकुमारका अनुसार राति ८ बजेतिर बिरामीलाई धेरै अप्ठेरो भयो । ‘त्यसपछि फेरि डाक्टरलाई जानकारी गरायौं । अनि डाक्टरले त किड्नीको नसा काटियो, अत्यधिक रक्तश्राव भयो, अब बिरामीको ज्यान छान्ने कि किड्नी छान्ने पो भन्न थाले । त्यसपछि बाध्यतावश हामीले किड्नी झिकेर निको हुने भए बरु किड्नी झिक्दिनुस्, हामी ज्यान रोज्छौं भन्यौं,’ चौधरीले भने, ‘राति २ बजे किड्नी पनि निकाले । ल ज्यान दिएँ भने ।’
तर फेरि आइतबार बिहान अस्पताल प्रशासनका व्यक्तिहरुले बिरामीको अवस्था क्रिटिकल छ भन्न थाले । बिरामीलाई आईसियुमै राखिएको थियो । ‘हामी भेट्न गयौं । उहाँको त श्वास मात्रै बाँकी थियो,’ चौधरीले भने, ‘दिउँसो २ बजे त डाक्टरले अब बचाउन सकिँदैन भन्न थाले ।’ चौधरीका अनुसार त्यसै क्रममा आइतबार राति अस्पतालका अध्यक्ष महेश जोशीले ‘बिरामीको मृत्युु भइसक्यो, कति पैसा चाहिन्छ लिनुस्, हल्ला नगरिदिनु होला, लैजानुस् भन्न थाले ।’
घरको सिँढीबाट लडेर चोट लागेपछि उपचारका लागि धनगढी ल्याइएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा मिर्गौलामा पत्थरी रहेको थाहा भएको भतिजा राजकुमार चौधरीले बताए ।