सुनसरी । इटहरी उपमहानगरमा व्यापक भ्रष्टाचार भएको एक जना सांसदले आरोप लगाएका छन् । प्रतिनिधिसभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले नगरबस, अस्पतालको सिटि स्क्यान मेसिन खरीदमा सेटिङ भएको आरोप लगाएका छन् भने इटहरीको शान्ती सृजना स्कुलमा समेत भ्रष्टाचार भएको बताएका छन् ।
उनले इटहरी उपमहानगरपालिकाले खरिद गरेको चार वटा विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको आरोप लगाए । आपुर्तीकर्तासंग सुरुदेखि नै सेटिङ गरेर तेस्रो कम्पनी खडा गरेर भ्रष्टाचार गरिएको चौधरीले आरोप लगाए । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले टेन्डर आव्हानदेखि योजना तर्जुमा गर्दासम्म व्यापक भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
चौधरीले एक मात्र कम्पनीलाई ठेक्का पार्ने गरी नगर अस्पतालको सिटी स्क्यान मेसिन खरिदमा पनि भ्रष्टाचार भएको बताए । उनले ५ करोड पर्ने मेसिनलाई ८ करोडमा खरिद गर्ने तयारी गरेको आरोप लगाएका छन् । व्यापक जनदबाबपछि टेन्डर रद्ध गरिएको दाबी उनले गरेका छन् । यस्तै चौधरीले इटहरीमै रहेको शान्ति सिर्जनामा माध्यमिक विद्यालयमा उपमहानगरपालिकाका कर्मचारी, प्रधानाध्यापक र जनप्रतिनिधिले ८० लाख रकम ‘घोटाला’ गरेको आरोप लगाए ।
अख्तियारमा मुद्धा हाल्नुस्, प्रमाणित गरेर देखाउनुस् : मेयर पौडेल
प्रतिनिधिसभामा कुरा उठेपछि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आरोपको खण्डन गरेका छन् । उनले भ्रष्टाचार भएको आरोप निराधार भएको बताउँदै सबै काम नियमअनुसार गरिएको बताए । उनले शान्ती सृजना माविमा भने कर्मचारीको मानवीय त्रुटीका कारण पैसा गएको बताउँदै उक्त पैसा फिर्ता गराएको बताए ।
उनले टेण्डर प्रक्रियाबाट बस खरीद गरेको बताउँदै छानविन समिति बनाउने र अख्तियारमा मुद्धा दर्ता गरी छानविन गर्ने कामको नेतृत्व गर्न चुनौति दिए ।
उनले सिटि स्क्यान मेसिन खरीद प्रक्रिया जनदबाबपछि रोकिएको आरोप पनि निराधार भएको बताए । उनले प्रि बिडिङ बैठकमा प्राविधिक त्रुटी देखिएकोले टेण्डर रद्ध गरेको बताउँदै कुनै जनदबाब पनि नरहेको बताए ।
उनले रास्वपाले बढि स्टण्ट गर्ने र आफ्नो भुमिका र जिम्मेवारीबाट पन्छिने काम गरिरहेको बताए । ‘जुन विषयमा मुद्धा छैन, छानविन छैन, वहाँ न्यायाधिश हो ?’ उनले भने, ‘बकबक गरेर मात्र हुँदैन, यो कुराको छानविन गरेर तपाईले टुंगो लगाउनुपर्छ ।’