प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो, ८ बेपत्ता, १२ जना घाइते

न्युजलय २३ असार २०८१, आइतबार ०९:४१ मा प्रकाशित

काठमाण्डौ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।


पछिल्ला विपद्जन्य घटनामा परेर ११ जनाले ज्यान गुमाएका हुन् । यी घटनामा आठ जना बेपत्ता र १२ जना घाइते भएका छन् । ज्यान गुमाउने ११ जनामध्ये गण्डकी प्रदेशको स्याङजा, पर्वत र तनहुँका गरी आठ जना रहेका छन् ।


वर्षा र झरीले देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी, नारायणी, सेतीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ । अरू विभिन्न स–साना खोला खहरे पनि उर्लिएका छन् । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।