काठमाडौँ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमलाई बुधबार (नोभेम्बर १ तारिख)का दिन प्राप्त नयाँ मूल्यसूची बमोजिम पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो ।
निगमकाअनुसार नयाँ मूल्यसूचीअनुसार पेट्रोल ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेलमा ४ रुपैयाँ एक पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ ।
त्यस्तै, एल.पी.ग्यासको मूल्य भने घटेर आएको निगमले जनाएको छ । डिजेलमा १५ दिनमा ५८ करोड १० लाख रुपैयाँ, एल.पी. ग्यासमा २६ करोड ३२ लाख रुपैयाँ घाटा भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफासमेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब १८ करोड रुपैयाँ मात्रै नाफा हुने निगमको प्रक्षेपण छ ।
पछिल्लो पटक असोज ३० गते पेट्रोल, डिजेललगायत अन्य पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि २० महिनापछि निगम केही सामान्य नाफामा रहेको बताइएको छ ।