मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा बराहक्षेत्रका एक युवकको मृत्यु

न्युजलय २ बैशाख २०८१, आइतबार १२:४३ मा प्रकाशित

इटहरी । सुनसरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २० वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार बराहक्षेत्र नगरपालिका–३ हर्दियास्थित कालाबञ्जर–बाङ्गे भित्री सडकखण्डमा कालाबञ्जरबाट बाङ्गेतर्फ आँउदै गरेको को ३६ प २५६७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकको दाँया साइडमा रहेको नालामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बराहक्षेत्र ७ बस्ने २० वर्षीय सञ्जीव माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार माझीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार सोही ठाउँका २३ वर्षीय विशाल कोइराला घाइते भएका छन् ।

उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।