इटहरी । रास्वपा कोशी प्रदेश महामन्त्री लालविक्रम थापालाई पार्टीले निलम्बन गरेको छ । सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बनेर १९ हजार बढी मत ल्याएका थापालाई अनुशासनको कारवाही गर्दै निलम्बन गरेको हो ।
इटहरीको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भाडामा लिएर पैसा नतिरेको आरोप उनीमाथि छ । सो विषयमा पार्टीले जिम्मेवार बनेर सकेसम्म आफै उक्त मुद्दालाई किनारा लगाउन सुझाव दिँदा नटेरेको र पार्टीको फेसबुक पेज दुरुपयोग गरेको आरोपमा उनीमाथि कारवाही गरेको हो ।
करिब २ कट्टा खाली जग्गा भाडामा लिनेदिने गरि थापासमेत सन्चालक रहेको सनमुन प्लाजा बिच भएको सम्झौता अनुसारको भाडा हाल सम्म नबुझाएको विषयमा स्पष्टीकरण लिएको थियो । तर सम्बाद प्रक्रिया नै बन्द गरि कोशी प्रदेशको "सामाजिक संजाल प्रयोग निर्देशिका २०८०" को भावना र मर्म विपरित फेसबुक लाईभ गरि अनर्गल प्रस्तुति दिएको पार्टीको आरोप छ ।
विज्ञप्तिमा भनिएको छ, 'पार्टीको एक जिम्मेवार व्यक्तीबाट पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको ठहर गरि केन्द्रिय अनुशासन विभाग की प. स. ०८०/८१ च. नं. ८० मिति २०८०/११/०७ को पत्र अनुसार कोशी प्रदेश समितीको महामन्त्री तथा सदस्य पद बाट अर्को निर्णय नआईन्जेल सम्मका लागि निलम्बन गरिएको जानकारी गराउदछौ । अर्को व्यवस्थापन नभएसम्मका लागि आजकै मितिबाट निजले गर्दै आएको संगठन सम्वन्धी काम कार्वाहीहरु प्रदेश संडठन विभागसचिव मार्फत हुने जानकारी गराउदछौ ।'
थापाले गत प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. २ मा १९ हजार बढी मत ल्याएका थिए ।
एमालेका भीम आचार्य ३२०२४ मत ल्याएर विजयी भएको निर्वाचनमा कांग्रेसका सीताराम मेहताले २६०६८ मत ल्याएका थिए भने रास्वपाका थापाले १९३९१ मत ल्याएका थिए । उनले सुनसरी क्षेत्र नं. २ मा पर्ने इटहरीका वडाहरूमा एमाले र कांग्रेसका उम्मेदवारलाई पनि पछि पारेका थिए ।