सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

न्युजलय २४ भदौ २०७९, शुक्रबार ०१:४७ मा प्रकाशित

काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेका छन्।


नेपाल क्रिकेट संघ (क्यान)को कार्यसम्पादन समितिको बैठकले उनलाई निलम्बन गरेको क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जनाएका छन्। प्रहरीले अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेपछि क्यानले निलम्बन गरेको हो।


क्यानले भनेको छ, ‘नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ति करणी कसुरमा मिति २०७९ भदौ २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थमा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ।’