विराटनगर । उदयपुरमा होली खेल्न भन्दै गाउँबाट गएका १५ जना बालबालिकाहरू मध्ये तीन जना सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।
त्रियुगा नगरपालिका–१४ धाप्लाङघाट नजिकै पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता भएका हुन् । उदयपुर प्रहरीका अनुसार १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता भएका हुन् ।
प्रहरी, स्थानीय र जनप्रतिनिधिहरू समेत मिलेर बेपत्ताहरूको खोजी भइरहेको जनाइएको छ ।
वडा नम्बर १४ का वडाध्यक्ष हिमबहादुर मगरका अनुसार होलीको दिन भएकोले उनीहरु गाउँबाट होली खेल्ने भन्दै सुनकोशीतिर झरेका थिए ।
गाउँबाट करिव १५ को समुहबाट केटाकेटीहरू सुनकोशीमा झरेको र उनीहरु मध्ये ५ जना पौडी खेल्न भन्दै नदीमा पसेका थिए ।
जसमध्ये तीनजना अहिलेसम्म बेपत्ता भएको वडाध्यक्ष मगरले बताए । बाँकीलाई भने स्थानीयको समेत सहयोगमा नदीबाट उद्धार गरिएको उनले बताए ।