घोडेटार । भोजपुरको हतुवागढी–१ घोडेटार स्थित ‘छैठौं भिमदल राई स्मृति हतुवागढी गोल्डकप–२०७८’ सञ्चालन हुने भएको छ ।
भीमदल राई स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘छैठौं भीमदल राई स्मृति हतुवागढी गोल्डकप २०७८’ को तयारी पुरा भएको आयोजकले जनाएको छ ।
मंगलबार भएको खेल तालिका सार्वजानिक कार्यक्रममा बोल्दै प्रतिष्ठानका खेल संयोजक अनिल कुमार राईले भने –‘यस संस्करणको प्रतियोगिता सञ्चालनका लागि हामी पूर्ण तयार भएका छौं ।’
हतुवागढी क्षेत्रकै सबैभन्दा प्रतिष्ठित र धेरै नगद पुरस्कार रहेको यस प्रतियोगितामा जम्मा १६ टिमहरुको सहभागि रहेको आयोजकले जनाएको छ ।
प्रत्येक २ २ वर्षमा प्रतियोगिता आयोजना गरिने भए पनि गत वर्ष कोभिड १९ का कारण प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।
यस प्रतियोगिताको विजेता टिमले नगद रु। १ लाख ६६ हजार ६ सय २२ रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उप विजेता टिमले १ लाख १ हजार ३० रुपैयाँ नगद सहित मेडल र प्रामण पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सेमी फाइनल खेलबाट मेन अफ द म्याच र विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ । आयोजकले प्रतियोगिताको गोलनेपाल डटकमबाट प्रतक्ष प्रशारण गर्ने व्यवस्था पनि गरेको छ । जुन भोजपुर जिल्लाको फुटबल इतिहासमा पहिलो पटक प्रतक्ष प्रसारण हुने आयोजकको दाबी रहेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक भीमदल राई स्मृति प्रतिष्ठान रहेको छ भने सह–प्रायोजकको रुपमा हतुवागढी गाउँपालिका, घोडेटार भोजपुर रहेको छ ।
यस प्रतियोगिता विभिन्न संघ संस्था तथा खेल प्रेमीहरुको आर्थिक सहयोगमा सञ्चालन हुने प्रतिष्ठानका सचिव शंकरहरि खालिङ्गले जानकारी दिए ।
प्रतियोगिताको तेस्रो संस्करण सम्म महिला तथा पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको भए पनि विभिन्न कारण तेस्रो संस्करण पछिका प्रतियोगिताहरुमा खुल्ला पुरुष फुटबल प्रतियोगिता मात्र सञ्चालन हुदै आएको छ ।
उक्त फुटबल प्रतियोगिता यहि पौष १ गतेबाट ४ गते सम्म श्री सगरमाथा मा.वि.को खेलमैदानमा सञ्चालन हुनेछ ।