पेरुमा विमान दुर्घटनाः १३ जनाको मृत्यु

न्युजलय १७ साउन २०८३, आइतबार १२:१६ मा प्रकाशित

काठमाडौं । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को दृश्यावलोकन गराउन उडाइएको थियो ।

नाज्का नगरपालिकाका अनुसार विमान नजिकैको इका सहरबाट उडेको थियो ।

नाज्का लाइन्स पेरुका प्राचीन बासिन्दाले मरुभूमिमा कुँदेर बनाएका विशाल भू–चित्रहरूको समूह हो ।

जनावरका आकृतिमा रहेका यी भू–चित्रहरू विमान वा विशेष दृश्यावलोकन टावरबाट मात्र स्पष्ट रूपमा देख्न सकिन्छ  ।

पेरुभियाली अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।