खोटाङ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाएर चिट चोर्ने खोटाङमा तीन जना विद्यार्थीलाई निष्कासन गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि परीक्षा केन्द्रमा मोबाइलसहित भेटिएका तीन जना विद्यार्थीलाई परीक्षाबाट निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइ खोटाङले जनाएको छ ।
एकाइका निमित्त प्रमुख नन्दबहादुर विश्वकर्माको टोली बिहीबार परीक्षाको अनुगमन गर्न पुग्दा विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको भेटिएको हो ।
मोबाइलमा मेसेन्जर ग्रुप बनाएर चिट चोरिरहेको भेटिएपछि तत्काल तीन जना विद्यार्थीको बिहीबारको परीक्षा रद्द गरिएको बताइएको छ । उक्त तीन जना विद्यार्थी रहेको २ वटै कक्षाका निरीक्षकलाई हटाइएको छ ।
एउटा कोठमा एक जना सरस्वती मावि पाथेका र अर्को कोठामा कालिका मावि खार्मीका दुई जना विद्यार्थीसँग मोबाइल भेटिएको थियो ।