इटहरीमा विद्युतीय शव दाह गृह बन्ने

न्युजलय १७ फाल्गुण २०८०, बिहिबार ०६:१० मा प्रकाशित

इटहरी । इटहरीस्थित बुढीगंगा जमुना मुक्तीघाटमा विद्युतीय शवदाह गृह बन्ने भएको छ । यो कोशी प्रदेशकै पहिलो हो ।


इटहरी उपमहानगर र कोशी प्रदेश सरकारको साझेदारीमा विद्युतिय शवदाह निर्माण हुने पक्का भएको छ । बिहिबार कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा भएको छलफलले इटहरी ४ मा रहेको बुढीगंगा जमुना मुक्तिघाट इटहरीको किनारमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारको ७० र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण सम्पन्न हुनेछ ।


दाउरा विपन्न तथा गरिबहरुलाई महङ्गो पर्ने र समय पनि धेरै लाग्ने भए पछि विद्युतीय बनाउन लागिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । दाउराले जलाउँदा दुई तीन घण्टा लाग्ने भए पनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा लाश जलिसक्नेछ ।


इटहरी उपमहानगरले घरदेखि घाटसम्म स्थानीय सरकार भन्ने नारालाई सफल बनाउन विद्युतीय शवदाह गृह कोषेढुङ्गा साबित हुने र इटहरीको एउटा आवश्यकता पूरा हुने दाबी मेयर पौडेलको छ । तत्काल विद्युतिय शवदाह निर्माण शुरु गर्नेगरी दुवै सरकारको संयन्त्र सम्मीलित प्राविधिक समिती समेत गठन गरिएको उनले बताए ।