मेची अस्पतालभित्र भेटियो कर्मचारीको शव

न्युजलय १६ साउन २०८१, बुधबार ०३:०० मा प्रकाशित

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् ।  

अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार बिहान  मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर नगरपालिका–१० निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तलाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेका थिए ।

उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको अनुमान छ ।

बुधबार बिहान सरसफाइ कर्मचारीले कोठाभित्र शव देखेपछि होहल्ला गरेका थिए ।

त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि पठाएको थियो ।