गायक शिव परियारः ‘बलात्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर गरौँ’

न्युजलय २३ भदौ २०७९, बिहिबार १२:०४ मा प्रकाशित

काठमाडौँ । नेपालमा मौलाएको बलात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर गर्न जरुरी रहेको गायक शिव परियारले बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक १७ वर्षीया बालिकाले बलात्कारको आरोप लगाउँदै मंगलबार प्रहरीकोमा उजुरी दिएको घटनाप्रति लक्षित गर्दै गायक परियाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन् ।

‘नेपाल सरकार, यो पेशेवर पीडित भनौंदाहरुलाई पनि व्यवस्थित गरी कारबाही गर्ने कुनै कानुनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिद्ध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो, कृपया अनुसन्धान होस्,’ गायक परियारले फेसबुकमा लेखेका छन् ।

अहिलेकै अवस्था रहे प्रधानमन्त्री, मेयर, कलाकार, संस्कृतविद्, वैज्ञानिक, किसान, शिक्षाविद्, खेलाडी, समाजसेवी सबैमाथि बलात्कारको आरोप लाग्ने र नेपाल बलात्कारीको देश भनेर विश्व मानचित्रमा दर्ज हुने खतरा उनले ‍‍‍‍‍‌औँल्याएका छन् ।