घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका १ घोडेटारस्थित पौष २५ देखि भलिबल प्रतियोगिता हुने भएको छ ।
हतुवागढी खेलकुद विकास समितिको आयोजनामा अन्तर गा.पा/न.पा. स्तरीय महिला/पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।
मंगलबार खेलकुद समितिले एक सुचना जारी गर्दै उक्त भलिबल प्रतियोगिताको उद्घाटन पौष २५ गते बिहान ७ बजे गरिने जनाएको हो ।
हतुवागढी १ खेलकुद विकास समितिको सह आयोजना तथा हतुवागढी गापाको प्रायोजनमा हुन लागेको उक्त भलिबल प्रतियोगिताको पुरुष तर्फ विजेता टिमलाई रु १ लाख ५० हजार ५ सय ५५ र उपविजेता टिमलाई रु १ लाख १ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्यसै गरि महिला तर्फ विजेता टिमलाई रु. ७५ हजार ५ सय ५५ र उपविजेता टिमलाई ५० हजार ५ सय ५५ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जारी सुचनामा उल्लेख छ ।
सरकारी नियमको आधारमा पुरस्कार राशी वितरण गरिने तथा अन्य विधागत पुरस्कारको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ ।
उक्त अन्तर पालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागिताको लागि पौष २३ गतेभित्र टिम दर्ता गराइ सक्नु पर्ने आयोजक समितिका सदस्य अजय तामाङले जानकारी दिए ।
घोडेटार स्थित सगरमाथा माविको प्राङ्गणमा हुन लागेको उक्त भलिबल प्रतियोगिता जुनसुकै गाउँपालिका तथा नगरपालिकाका महिलारपुरुष खेलाडीहरु सहभागी हुन पाउनेछन् ।
नकआउट चरणमा खेलाइने उक्त भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिममा टिम मेनेजर सहित १० जना सहभागी हुनु पर्ने जनाइएको छ ।
प्रतिस्पर्धाका लागि खेलाडी सम्बन्धित गापा अर्थात नगर पालिकाको हुनुपर्ने तथा खेलाडीले नागरिकताको प्रतिलिपी अनिवार्य उपलब्ध गराउनु पर्ने समितिद्वारा जारी सुचनामा उल्लेख छ ।
युवा पुस्तालाई खेलकुद क्षेत्रमा आकर्षित गराउँदै हतुवागढी क्षेत्रमा भलिबल साथै खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको हतुवागढी खेलकुद विकास समितिका अध्यक्ष बालकुमार राइले बताए ।
अध्यक्ष राईले यहि पौष १२ गते देखि अन्तर वडा स्तरीय महिलारपुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।
उक्त वडास्तरीय प्रतियोगितामा हतुवागढी गाउँपालिका अन्तर्गतका खेलाडीहरुले मात्रै सहभागी हुन पाउने बताइएको छ ।
वडा स्तरीय भलिबल प्रतियोगिताको टाइसिट पौष ११ गते सार्वजनिक गरिने हुँदा सोही दिनको दिउँसो १२ बजे सम्म टिम दर्ता गराइ सक्नु पर्नेछ ।
वडास्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ विजेता टिमलाई रु ५१ हजार १ सय ११ र उपविजेता टिमलाई रु ३५ हजार ५ सय ५५ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्यसै गरि महिला तर्फ विजेता टिमलाई रु.३० हजार ३ सय ३३ र उपविजेता टिमलाई २० हजार २ सय २२ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने जारी सुचनामा उल्लेख छ ।