चीनको लान्झोउमा लकडाउन

न्युजलय ९ कार्तिक २०७८, मङ्गलबार ०३:०८ मा प्रकाशित

काठमाण्डौ । चीनले गान्सु प्रान्तको ४० लाख जनसंख्या भएको सहर लान्झोउमा लकडाउन गरेको छ। कोभिड–१९ का नयाँ संक्रमितको संख्या बढेसँगै चीनले यस्तो कदम उठाएको हो।

मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्र बाहिर निस्किन निर्देशन दिइएको छ। सोमबार चीनमा २९ नयाँ संक्रमित थपिएका थिए। नयाँ संक्रमितमध्ये ६ जना लान्झोउमा भेटिएका थिए। 

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीकाअनुसार कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै चीनले लान्झोउ प्रवेश गर्ने र बाहिरिने सबै मार्ग बन्द गरिएको छ।

यसअघि पनि चीनले कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिसकेको छ। चीनमा पछिल्लो समय फैलिएको कोरोना संक्रमणलाई डेल्टा भेरियन्टसँग जोडेर हेरिएको छ।