पथरी । इन्ट्रा फाउन्डेसनले स्वास्थ्य चौकी निर्माण गरि पथरी शनिश्चरे नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
अमेरिकाको इन्ट्रा फाउन्डेसन (इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका) ले वैशाख ८ गते पथरी शनिश्चरे नगरपालिकामा ५ बेडको स्वास्थ्य चौकी निर्माण गरि चौकीको उद्घाटन गरेको हो ।
फाउन्डेसनले नवनिर्मित स्वास्थ्यचौकीसहित एम्बुलेन्स शनिश्चरे नगरपालिकालाई र झापाको दमक नगरपालिकालाई अर्को एम्बुलेन्स उपलब्ध गराएको हो ।
हस्पिटलमा ५ वटा बेडसहित औषधिहरूको ब्यबस्थापन र नर्सको समेत सुविधा रहेको छ। साथै बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिरामीको आवश्यकता अनुसार डाक्टरहरु उपलब्ध रहने बताइएको छ ।
इन्ट्रा फाउन्डेसन नेपालका अध्यक्ष डिल्ली अधिकारीले आफू भुटानी शरणार्थी हुँदा र त्यस समय पाएको दुःख र संघर्षलाई पनि सम्झिँदै त्यस्तो दुःख कसैले नपाउन् भन्नका लागि सहयोग गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले इन्ट्रा फाउन्डेसन र डिल्ली अधिकारीको कामलाई प्रसंसा गरेका थिए ।
उद्घाटन कार्यक्रममा कलाकार दिलिप रायमाझी, गायक डम्बर नेपाली ,करिश्मा ढकाल, शंकर बिसिलगायतका कलाकारहरुसमेत सहभागि थिए ।
इन्ट्रा फाउण्डेशनले के गर्छ ?
फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वभर विभिन्न कार्यक्रम र कार्यक्रमहरूको साथ प्रवर्द्धन गर्दछ । यसबाहेक इन्ट्राले बालबालिका, वृद्धवृद्धा, विभिन्न अपाङ्गता भएका व्यक्तिहरू र अन्य सीमान्तकृत समूहहरूलाई आफ्ना विभिन्न परियोजनाहरूको मुख्य लक्ष्यको रूपमा मद्दत गर्दछ। संस्थाले नेपालभर रहेका विभिन्न शरणार्थी शिविरहरूलाई मद्दत गर्न र शिविरका बासिन्दाहरूको जीवनस्तर उकास्न काम गरिरहेको छ ।
फाउन्डेसनले ज्येष्ठ नागरिकको जीवनस्तर, शिक्षा, स्वच्छ खानेपानी र खेलकुद जस्ता क्षेत्रमा शिविरहरूलाई सहयोग गरिरहेको कार्यक्रमका सञ्चालक नरेस भट्टराईले जानकारी दिएका छन् ।